पूर्वप्रधानमन्त्री प्रचण्ड आज साँझ भारत प्रस्थान गर्दै

167 Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्दै हुनुहुन्छ।

नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम मा सहभागी हुन उहाँ भारत जान लाग्नुभएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूबारे विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतनाको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

नेता प्रचण्ड भोलि साँझ मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा उहाँको अन्य राजनीतिक भेटघाटको कार्यक्रम नरहेको सचिवालयले जनाएको छ।