निर्वाचनको प्रक्रिया सुरु भई सक्यो संसद् पुनः स्थापना हुँदैन : संयोजक प्रचण्ड

165 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश पूर्ण रूपमा निर्वाचनतर्फ केन्द्रित भइसकेको बताउनुभएको छ।

आज संखुवासभाको खाँदबारीमा आयोजित पत्रकार भेटघाटमा दाहालले अहिलेकै सरकारले प्रतिनिधिसभा निर्वाचन गराउने स्पष्ट गर्नुभयो। निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेकाले अब देश चुनावतर्फ होमिएको उहाँको भनाइ छ।

जेन–जी युवापुस्ता निर्वाचनको पक्षमा रहेकाले यस विषयमा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै दाहालले अब सर्वपक्षीय वा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गर्नुभयो।

उहाँले वर्तमान सरकारले आगामी फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताउनुभयो। जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार अहिलेका राजनीतिक दलहरू नयाँ जनादेशमा जानुपर्ने आवश्यकता रहेको उहाँको धारणा छ।

निर्वाचन प्रक्रिया सुरु भइसकेकाले संसद् पुनःस्थापना नहुने जिकिर गर्दै दाहालले नयाँ जनादेशपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

नेपाली कम्युनिष्ट पार्टी संखुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल खाँदबारी पुग्नुभएको हो।