शेयर बजारमा आज झिनाे अंकले वद्धि

196 Shares

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ।

नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको हो। बजारमा झिनो सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। यस दिन कुल ३ सय ३४ कम्पनीका ७२ लाख २४ हजार ९ सय १७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन्। अघिल्लो दिन मंगलबार ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

बजारमा १ सय ११ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४२ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

समूहगत परिसूचकमध्ये बैंकिङसहित ६ समूहका सूचक बढेका छन् भने ७ समूहका सूचक घटेका छन्। सबै समूहको उतारचढाव एक प्रतिशतभन्दा कम रहेको छ।

आजको कारोबारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलव ३२ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै नेशनल हाइड्रोपावर ४ दशमलव २६ प्रतिशत, हिमस्टार ऊर्जा ४ दशमलव १९ प्रतिशत र सिद्धार्थ बैंक ३ दशमलव ९७ प्रतिशतले बढेका छन्। सबैभन्दा बढी गिरावट भने ग्रामीण विकास लघुवित्तको सेयरमा ४ दशमलव २३ प्रतिशत देखिएको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बाँकी सबै कम्पनीको कारोबार रकम १० करोड रुपैयाँभन्दा कम रहेको नेप्सेले जनाएको छ।