बडादशैँ नजिकिँदै गर्दा उपत्यका छाड्नेको लर्को, मुख्य नाकाहरूमा यात्रुको बाक्लो चाप

10 Shares

काठमाडाैं । नेपालीहरूको महान चाड बडादशैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौं उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्कने नागरिकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।

काठमाडौंका प्रमुख बहिर्गमन नाकाहरू कलङ्की, कोटेश्वर, बालाजु तथा नयाँ बसपार्क क्षेत्रमा घर फर्किने सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार पछिल्ला केही दिनयता दैनिक रूपमा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । दशैँ, तिहार तथा छठ पर्व मनाउनका लागि अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा राजधानीमा बसोवास गर्दै आएका लाखौँ सर्वसाधारण गाउँ फर्कन थालेपछि मुख्य सडक खण्डहरूमा चहलपहल बढेको हो ।

विशेष गरी पूर्वतर्फ जाने सवारीसाधन र यात्रुहरूको चाप कोटेश्वर, जडीबुटी तथा भक्तपुर क्षेत्रमा केन्द्रित छ भने पश्चिम तथा तराईतर्फ जाने यात्रुहरूको भीड कलङ्की, बल्खु र थानकोट नाकामा बाक्लो देखिएको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनमा अग्रिम टिकट बुकिङ गरिसकेका नागरिकहरू समयमै गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् भने कतिपय यात्रुहरू तत्काल टिकट व्यवस्थापन गर्न काउन्टरहरूमा लामवद्ध छन् । दशैँको समयमा यात्रुहरू ठगिने, बढी भाडा असुलिने तथा दुर्घटनाको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी र नेपाल प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएका छन् ।

ट्राफिक प्रहरीले निर्धारित भाडादरभन्दा बढी लिने सवारीसाधनमाथि कडा कारबाही गर्ने र सिट क्षमताभन्दा बढी यात्रु नबोक्न सचेत गराएको जनाएको छ । सडक सञ्जालमा आएको पहिरो तथा खाल्डाखुल्डीका कारण केही राजमार्गहरूमा यात्रा असहज बने पनि नागरिकहरू हर्षोल्लासका साथ चाडपर्व मनाउन गाउँघरतर्फ जाने क्रम निरन्तर जारी छ ।