केहेर एण्ड लुङ्गालाई कन्सर्टको चटारो, नयाँ गीतको तयारीमा केहेर सिंह

39 Shares

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको ‘केहेर एण्ड लुङ्गा’ ब्याण्डलाई कन्सर्टमा सहभागी हुन भ्याइनभ्याइ भएको छ । आफ्ना गीतमार्फत युवा पुस्तामाझ लोकप्रिय बनेको ब्याण्डले दसैँको समयमा पूर्वी नेपालका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने तयारी गरेको छ ।

बिहीबार झापाको बिर्तामोडबाट सुरु हुने कार्यक्रम दमक, इलाम र चुलाचुलीसम्म सञ्चालन हुनेछ । केही दिनअघि पाँचथरमा प्रस्तुति दिएको ब्याण्डले हिउँदको सिजनमा पनि लगातार कार्यक्रमको निम्तो पाइरहेको छ । सन् २०२७ का लागि विदेशका विभिन्न स्थानमा समेत कन्सर्टको बुकिङ भइसकेको जनाइएको छ ।

ब्याण्डका मुख्य गायक केहेर सिंह लिम्बुका ‘डोको बुन्ने’, ‘बैगुनी’, ‘सरसर’, ‘तिमिलाई सम्झेर’, ‘झ्यालैमा’ र ‘खेरै जाने माया’ लगायतका गीत चर्चित छन् । उनका गीत टिकटक र फेसबुक रिल्समा समेत लोकप्रिय छन् । केहेरले देशका विभिन्न स्थानमा दर्शकबाट राम्रो साथ पाएको बताउँदै चारवटा नयाँ गीत तयार गरिरहेको जानकारी दिएका छन् ।

तेह्रथुमको जिरिखिम्तीमा जन्मिएका केहेरले सानैदेखि गीत गाउन थालेका थिए । २०८० सालमा टिकटकमा सार्वजनिक गरेको ‘तिमिलाई सम्झेर’ गीत चर्चित बनेपछि उनको सांगीतिक यात्राले गति लिएको हो ।

लोक, आधुनिक र रक संगीतको सम्मिश्रण प्रस्तुत गर्दै आएको ब्याण्डमा केहेर सिंह लिम्बुसँगै साउन्ड इन्जिनियर रिजन महर्जन, गिटारिस्ट प्रवेश थापा र ड्रमर संयम अधिकारीलगायत युवा कलाकार आबद्ध छन् । केहेरले काठमाडौंमा घर बनाएपछि मात्र विवाह गर्ने आफ्नो योजना पनि सुनाएका छन् ।