काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले ८४ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै बोलकबोलमार्फत रकम खिच्न लागेको हो।
हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यस्तो अवस्थामा तरलता व्यवस्थापन र ब्याजदर स्थिर राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।
यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलनको रकम बाँडफाँट गर्दा बोलकबोलमा प्रस्ताव गरिएका ब्याजदरका आधारमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन गरिनेछ र ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। यस पटक संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज २०८२ चैत १ गते भुक्तानी गरिनेछ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म सीमित हुनेछ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा ब्याजदर व्यवस्थापनका लागि अधिकतम ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्ला दिनहरूमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया