काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ठूलो मतान्तरले पराजित भएका वरिष्ठ नेता ईश्वर पोखरेल केन्द्रीय सदस्य पदमा पनि पराजित भएका छन् ।
अध्यक्ष पदको निर्वाचनमा केपी शर्मा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरी विजयी भएका थिए भने पोखरेलले ५ सय ६४ मत मात्र ल्याएका थिए । कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए ।
पदाधिकारी उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने व्यवस्था अनुसार पोखरेल खुला केन्द्रीय सदस्यतर्फ पनि प्रतिस्पर्धामा थिए । यद्यपि अध्यक्ष ओलीभन्दा बढी मत प्राप्त गरे पनि आवश्यक मत नपुग्दा उनी केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् । पोखरेलले १ हजार ८८ मत प्राप्त गर्दा ओलीले ९ सय ७९ मत ल्याएका थिए ।
लामो समयदेखि पार्टीको वरिष्ठ नेतृत्वमा रहेका पोखरेल यस महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीसँग प्रतिस्पर्धामा उत्रिएका थिए । उनको प्यानलबाट अधिकांश पदाधिकारी उम्मेदवारहरू पनि पराजित भएका छन् ।
पराजयपछि पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफू विजयी नभए पनि एमालेको अभियानमा निरन्तर सक्रिय रहने बताएका छन् । साथै उनले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया