काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम सकेसम्म चाँडै सार्वजनिक गर्ने तयारी गरिएको छ। विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएकाले मतगणना सुरु भएको करिब तीन घण्टाभित्रै नतिजा आउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी आज बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ। मुचुल्का उठाउने र दलीय प्रतिनिधिहरूबीच सहमति कायम गर्ने प्रक्रिया सम्पन्न भएपछि गणना सुरु गरिने उनले जानकारी दिए। उपाध्यक्ष पोखरेलले भने, “हाम्रो तयारी र लक्ष्य बिहान साढे १० बजेसम्म सम्पूर्ण नतिजा सार्वजनिक गर्ने हो।”
नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेर १२ मिनेटदेखि मतदान प्रक्रिया सुरु भएको थियो। निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो। महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। मतदान प्रक्रियामा ३६ जना प्रतिनिधि अनुपस्थित रहेका थिए।
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ६ सय ४२ जनाको उम्मेदवारी परेको छ। नेतृत्वको मुख्य प्रतिस्पर्धामा अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया