काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरको वृहत प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले यस्तो आग्रह गरेका हुन् । नेता शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताए । उनले जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताए । नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको उनले बताए । राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने माग राप्रपाको रहेको उनले बताए । उनले देशको संविधान, कानुन र ऐनमा कतै न कतै खराब रहेको बताए । राजा, जेनजी र राजनीतिक दलहरूले त्रिपक्षीय सम्झौता गर्न आह्वान गरे । माग पूरा नभए सडक आन्दोलन सुरु हुने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया