सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती

12 Shares

कपिलवस्तु । सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन् ।

करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरिएको खेतीबाट उहाँले हालसम्म तीन पटक फल उत्पादन गरिसकेका छन् । रुपन्देहीको रानीबगियाबाट ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार–चार वटा बिरुवा रोपेर खेती सुरु गरिएको बेलवासेले बताए । उनले प्रतिबिरुवा रु १६० का दरले खरिद गरेका हुन् । बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन बढ्न केही समय लाग्ने उनको भनाइ छ ।

“अहिलेसम्म तीन पटक फल टिपेका छौँ । चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उनले भने ।

ड्रागन फ्रुटको बजार राम्रो भएकाले बिक्रीका लागि समस्या नरहेको बेलवासेले बताउनुभयो । उहाँका अनुसार अहिले प्रतिकिलोग्राम रु ४०० सम्ममा बिक्री भइरहेको छ । फल उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको उनले बताए ।

युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर नयाँ बालीतर्फ आकर्षित भएको बताउँदै बेलवासेले सिँचाइको अभावलाई खेतीको मुख्य चुनौतीका रूपमा लिएका छन् । रोग तथा कीरा व्यवस्थापनका लागि थप प्राविधिक ज्ञान आवश्यक रहेको उनको भनाइ छ ।

चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनले बताए । जिल्लामा अत्यधिक गर्मी हुने भएकाले भने खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उनको अनुभव छ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा ड्रागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी यकिन अभिलेख नरहे पनि साना तथा छरिएर खेती सुरु हुन थालेको बताए । व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनले बताए ।

परम्परागत बालीसँगै नयाँ तथा बढी आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेसँगै कपिलवस्तुमा ड्रागन फ्रुट खेतीले पनि विस्तारको सम्भावना देखाएको छ ।