काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता वितरणबारे शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थासँग छलफल गर्दैछ । पार्टी महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो । समिति सदस्य प्रकाश स्नेही रसाइलीले सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रूपमा अघि बढाउन छलफल गर्ने तय भएको जानकारी दिए । स्नेहीले समितिले भ्रातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाइएको जानकारी दिए । कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन पुसको २६ देखि २८ गतेसम्म गर्ने गत सोमबारको बैठकबाट निर्णय गरेको थियो । त्यसपछि बुधबार बसेको समिति बैठकले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याइसक्ने निर्णय गरेको थियो । महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया