काँग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि

192 Shares

काठमाडौँ । विशेष महाधिवेशन पक्षधर नेपाली काँग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले बिहीवार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुनेगरी आएको प्रतिक्रिया दिएका हुन् । नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरुले पुस २८ गते भित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने समेत बताएका छन् । उनले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिकाअनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरुले तयारीको कामलाई अघि बढ्नुपर्ने जिकिर गरेका छन् । काँग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरुको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाएका छन् । सभापति श्रेष्ठले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरुले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताएका छन् ।