मधेसमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी, कसले पाउला ?

153 Shares

काठमाडौँ । मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाल लाभले बुधबार संविधानको धारा १६८ ९२० अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । तर दलहरुबिच सहमति बनिसकेको छैन । मुख्यमन्त्रीमा हालसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दाबी देखिएको छ । सात दलको बैठकमा भएको सहमतिले त्यसबारेमा तय गर्ने माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले बताए । ‘लोसपा र कांग्रेसले मात्र होइन, सात दलीय गठबन्धनमा रहेका सबै दलले सरकारको नेतृत्व गर्न पाऊँ भनेर दाबी गरेका छन् । यसअघि माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल, जनमत र लोसपा नेपालसहितको पाँच दलीय गठबन्धनबाट लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए । विश्वासको मतको प्रक्रिया सुरु नहुँदै उनले राजीनामा दिएपछि प्रदेशसभाको ठुलो दलको हैसियमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर यादवको नियुक्ति अवैधानिक भएको भन्दै कांग्रेस, माओवादी, जनमत, लोसपा, जसपा नेपालसहित सात दलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।सुनुवाइपछि सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । तर मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत नलिँदै राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भएको हो । पाँच दलको गठबन्धन बनेर सोनललाई मुख्यमन्त्री बनाउँदा कांग्रेस एमालेको साथमा थियो । सोनलले मुख्यमन्त्रीबाट राजीनामा दिइसकेपछि कांग्रेस बल्ल पाँच दलीय गठबन्धनमा आएको हो ।