गगन थापाले उठाए महाधिवेशनको तालिका र समय ग्यापबारे प्रश्न

224 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा राखिएको समय ग्यापबारे प्रश्न उठाएका छन् । कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्नेगरी कार्यतालिका सर्वसम्मत पारित गरेको थियो । तालिकामा समावेश गरिएको अधिवेशनमा समयको ग्यापबारे महामन्त्री थापाले बैठकमा लिखित अतिरिक्त प्रस्तावमार्फत प्रश्न उठाएको उनको सचिवालयले जनाएको छ । उनले हस्ताक्षर फिर्ता गराएर मात्र महाधिवेशनको कार्यतालिका ल्याउने अडानमा संस्थापन पक्ष रहेपनि अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित आफूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडानमा राखेपछि संस्थापन यो कार्यतालिका ल्याउन बाध्य भएको उल्लेख गरेका छन् । थापाले यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न आफूले इमान्दारीपूर्वक काम गर्ने पनि बताएका छन् । कार्यतालिकाअनुसार काम भएन भने विशेष महाधिवेशन हुने उनको प्रस्तावमा उल्लेख छ ।