नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था घातक हुन्छः पूर्वमन्त्री ज्ञवाली

179 Shares

काठमाडौँ ।  पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गरेका छन् । शनिबार जेनजी एलाइन्स फर मोनार्कीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।उनले त्यो खालको शासन व्यवस्था आए मुलुक नरहन सक्ने अवस्था आउने चेतावनी समेत दिए ।  जलस्रोतविद् समेत रहेका ज्ञवालीले सो शासन व्यवस्था ल्याउने प्रस्ताव राख्नेहरुले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गरे । उनले सो शासन व्यवस्थाको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेको पनि औँल्याए ।पूर्वमन्त्री ज्ञवालीले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी । त्यो जतिको खतरनाक नेपालमा केही पनि हुँदैन । त्यो लेण्डुपदोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो । अप्रत्यक्ष हुँदा त देखिहाल्नु भयो, कस्ता कस्ता रहेछन यहाँ ओली र देउवा । अब प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान । यिनी त जेलेन्सकी र लेण्डुपदोर्जे हुन्थे होला । यिनीहरुले भारतमा लगेर मिसाईदिउँ भने कसैले बोल्ने ठाउँ नै हुने थिएन ।’ त्यस अवसरमा पूर्वमन्त्री ज्ञवालीले केपी ओली र शेरबहादुर देउवाहरुले नै मुलुकलाई कमजोर बनाएको आरोप समेत लगाए ।