नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको आज ४७औँ स्मृति दिवस मनाइँदै

301 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदैछ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

विसं १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठले नै कार्लमार्क्स  र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए ।  त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीहरुले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछन् ।

पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए । कम्युनिष्ट घोषणापत्र लेखेपछि उनकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो ।

भारत, कलकत्तास्थित श्यामबजारको एक बङ्गालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो । नेकपाको पुष्पलाल संस्थापक महासचिव रहेका थिए । नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहेका थिए ।  

पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन । वि.सं. १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उनले राजनीतिक यात्रा शुरु गरेका थिए ।