काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ ।
आइतबार एक कार्यक्रमबीच गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संयुक्त रूपमा स्मारक पार्क, शालिक तथा स्तम्भको शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले जेनजी पुस्ताले अघि सारेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले जेनजी पुस्ताको आन्दोलनका क्रममा शहीद भएकाहरू सबैको शालिक निर्माण गरिने बताए । ‘हामी आफैँ कसम खाएर आएका छौँ, त्यो उहाँहरूको माग पूरा गर्छौँ । आन्दोलनको क्रममा जति जना शहीद हुनुभएको छ, उहाँहरू सबैको शालिक बन्छ,’ गुरुङले भने ।
सरकारले जेनजी शहीद दिवसको अवसरमा आगामी भदौ २३ गते मुलुकभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया