काठमाडौंको रात्री यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव

21 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले उपत्यकाको रात्रीकालीन सार्वजनिक यातायात विस्तारका लागि हाल सञ्चालनमा रहेका ७ बसलाई बढाएर २८ पुर्‍याउने प्रस्ताव गरेको छ। रात्रीकालीन यातायातको प्रभाव अध्ययन गर्न गठित कार्यदलले ६ वटा नयाँ रुट थप्न सिफारिस गरेको हो।

हाल नागढुङ्गा–विमानस्थल र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा सेवा सञ्चालन भइरहेको छ। प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायु सेवासम्मका रुट रहेका छन्। यी रुटले प्रमुख अस्पताल, व्यापारिक केन्द्र र उपत्यकाका मुख्य नाकालाई जोड्नेछन्।

वैशाखदेखि असारसम्म ६ हजार ९५२ यात्रुले रात्रीकालीन सेवा लिएका थिए। एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा ३ हजार १३४ रुपैयाँ आम्दानी गरेकोमा सञ्चालन खर्च ४ हजार ८१४ रुपैयाँ रहेको पाइएको छ। यसअनुसार प्रतिबस दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको प्रतिवेदनमा उल्लेख छ।

अध्ययनअनुसार राति ८ देखि ९ बजेसम्म सबैभन्दा बढी यात्रुको चाप रहने गरेको छ। छोटो दूरीका यात्रु ४७ प्रतिशत, मध्यम दूरीका ३२ प्रतिशत र लामो दूरीका २१ प्रतिशत रहेका छन्।

सेवा विस्तार गर्दा महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षाका लागि बसमा निगरानी क्यामेरा, स्थान पहिचान प्रणाली र व्यवस्थित बस बिसौनी राख्न सिफारिस गरिएको छ।

काठमाडौंसहित ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सहभागितामा सेवा विस्तार गर्न सुझाव दिइएको छ। महानगरपालिकाले उपत्यकाका स्थानीय तहलाई समेटेर दिगो रात्रिकालीन यातायात सञ्जाल विकास गर्ने तयारी गरेको जनाएको छ।