लुतो फाल्ने चार्ड साउने सक्रान्तीः पर्व एक विशेषता अनेक

411 Shares

काठमाडौँ । सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई ‘काण्डरक नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड’ हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरू पूर्वका किरात लिम्बू, खम्बू तराईका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र मान्दैनन् ।

किरात समुदायमा ‘काण्डरक’ नामक राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यसर्थ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ ।

नेपालको पूर्वीक्षेत्रतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात(च्योङ)हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ ।

साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन् । थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् ।

वैज्ञानिक मतमा साउने सङ्क्रान्तिको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यही कारण यो दिनमा वर्षको सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ । आज भोलि यस्तो दिन असार ७ गते पर्न जान्छ ।

परम्परागतरूपमा, एक हिसाबले, यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ ।

साथै, कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।

किसानहरूकाे चाड
हिमाल, पहाड र तराई सबैतिरका किसानहरूले यो साउने सङ्क्रान्तिलाई एकदिन भए पनि पर्वको रूपमा मनाई अलिक सुविस्तामा सबै परिवार एकसाथ भई मिठा खाने पनि खाएर रमाइलो गर्ने गर्दछन् । त्यसैले, यो साउने सङ्क्रान्ति नेपाली किसानहरूको महान चाड हो भन्न सकिन्छ ।

मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई ‘हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई ‘वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् । अथात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो ।

थकाली आदिवासी जनजातिको परम्परागत धर्म-सङ्गठन मुखिया प्रणाली हो । यो सामाजिकि संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ । तर, अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थाले नै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ ।

त्यसैगरी, तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् । पूर्वी तराइका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् ।

पश्चिम कर्णालीको हुम्ला, जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष साँस्कृतिक नीधिको रूपमा मान्ने आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी ‘वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटिजाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभलक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा, सहकाल आइज’ भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।

आर्थिक वर्ष समाप्ति र शुभारम्भकाे दिन
संयोगवस, नेपालमा पुरानो आर्थिक वर्ष समाप्ती र नयाँ आर्थिक वर्ष शुभाराम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-साँस्कृतिकरूपमै कहाँ, के कति राजनीतिकरूपमा राम्रा काम र नराम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रूपमा पनि यो चाडलाई विकसित गरेर लैजान सकिन्छ ।