बनेपामा तीन दिनसम्म मनाइने  ऐतिहासिक चण्डेश्वरी जात्रा सुरु

538 Shares

काभ्रेपलाञ्चोक । बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आइतबारदेखि औपचारिकरुपमा सुरु भएको छ । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्दछन् । 

बर्सेनि चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । जात्राको पहिलो दिन आइतबार बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिकरुपमा जात्राको सुरु भएको हो भने आइतबारदेखि घरघरमा भोज पनि सुरु गरिएको छ । 

यस्तै गए राति हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग) सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा)गरिने स्थानीय मनिष भोछिभोयाले बताए । उनका अनुसार आज बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट) लाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । 

रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । 

जात्रा अवधिभर बुढापाकाले टोलटोलमा बसी बिहान–बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध राजचन्द्र श्रेष्ठले बताउँछन् । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । 

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारका तर्फबाटसमेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्छन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउँछन् ।

उनका अनुसार जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । रथलाई प्राचीन लायकू दरबारसम्म पुर्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपराह्न मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ । 

धार्मिक कथन एवं किंवदन्ती अनुसार करिब २५ सय वर्षअगाडि लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीका रुपमा प्रकट भई चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाइँदै आइएको हो ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएका छन् । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो ।रासस