आयुर्वेद चिकित्सालयमा पञ्चकर्म र फिजियोथेरापी सेवा लिने बढ्दै

11 Shares

काठमाडौं । चिसो मौसम सुरु भएसँगै बाथरोग, पक्षघात (प्यारालाइसिस) तथा हड्डी खिइनेजस्ता समस्याको उपचारका लागि प्रदेश आयुर्वेद चिकित्सालयमा आउने सेवाग्राहीको सङ्ख्या बढ्न थालेको छ । चिकित्सालयले बिरामीलाई लक्षित गरी पञ्चकर्म र फिजियोथेरापीमार्फत उपचार सेवा प्रदान गर्दै आएको छ ।

चिकित्सालयमा पञ्चकर्मअन्तर्गत पूर्वकर्मका रूपमा स्नेहन र स्वेदन, शिरोधारा तथा बस्तीकर्मलगायतका सेवा उपलब्ध छन् । त्यस्तै, विभिन्न शारीरिक समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापी सेवा पनि सञ्चालनमा रहेको छ ।

चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार हाल दैनिक महिला तथा पुरुष गरी करिब ४० जनाले पञ्चकर्मअन्तर्गतका विभिन्न सेवा लिइरहेका छन् । फिजियोथेरापी सेवाअन्तर्गत दैनिक २० देखि ३० जनासम्मलाई सेवा दिन सकिने क्षमता रहेको उनले जानकारी दिए ।

चिसो मौसममा बाथरोग, पक्षघात तथा हड्डी खिइनेजस्ता समस्याबाट प्रभावित बिरामी उपचारका लागि बढी आउने गरेका छन् । चिकित्सालयमा नियमित उपचार गराउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको र आयुर्वेदिक उपचार सेवाप्रति सर्वसाधारणको आकर्षणसमेत बढिरहेको चापागाईंले बताए ।

उनका अनुसार उपचार सेवा लिएका बिरामीमा क्रमिक सुधार देखिन थालेपछि चिकित्सालयले प्रदान गर्दै आएको सेवाप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको छ । विशेषगरी पञ्चकर्म र फिजियोथेरापी सेवालाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ ।

पञ्चकर्मअन्तर्गत स्नेहनमा शरीरमा तेल वा औषधिजन्य पदार्थ प्रयोग गरी उपचार गरिन्छ भने स्वेदनमा उपयुक्त विधिबाट शरीरलाई स्वेदित गरिन्छ । शिरोधारामा निधारको भागमा निश्चित प्रक्रियाअनुसार औषधिजन्य तरल पदार्थको धारा प्रवाह गरिन्छ । त्यस्तै, बस्तीकर्म आयुर्वेदको पञ्चकर्मअन्तर्गत पर्ने अर्को उपचार विधि हो ।

यी उपचार विधि बिरामीको स्वास्थ्य अवस्था, समस्या र आवश्यकताका आधारमा उपलब्ध गराइने चापागाईंले जानकारी दिए । फिजियोथेरापी सेवामार्फत पनि शारीरिक दुखाइ, शरीरको चलायमानतामा समस्या तथा मांसपेशी र स्नायुसम्बन्धी समस्या भएका बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ ।

चिकित्सालयमा नश्यकर्म सेवा लिइरहेका पूर्ण विकले सेवा सुरु गरेपछि नाकसम्बन्धी समस्यामा कमी आएको अनुभव सुनाए । चिसो मौसमको सङ्क्रमणपछि नाकमा समस्या देखिएपछि आफू नश्यकर्म सेवा लिन चिकित्सालय आउन थालेको उनले बताए । नियमित रूपमा सेवा लिन थालेपछि समस्यामा क्रमिक सुधार हुँदै गएको उनको भनाइ छ ।

चिकित्सालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ५०५ जनाले पूर्वकर्म तथा पञ्चकर्म सेवा लिएका थिए । त्यसैगरी, सोही अवधिमा दुई हजार २४० जनाले फिजियोथेरापी सेवा लिएका थिए भने ९७ जनाले शिरोधारा सेवा प्राप्त गरेका थिए ।

चिसो मौसमसँगै विभिन्न शारीरिक समस्याबाट प्रभावित बिरामीको चाप बढ्न थालेपछि चिकित्सालयले पञ्चकर्म तथा फिजियोथेरापी सेवामार्फत उपचारलाई निरन्तरता दिँदै आएको छ ।