काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट २० थान मोबाइल फोन जफत गरिएको छ ।
परीक्षा हलभित्र मोबाइल फोन लैजान नपाइनेबारे पूर्वसूचना जारी गरिएको भए पनि त्यसलाई बेवास्ता गर्दै २० जना परीक्षार्थीले लुकाइछिपाइ मोबाइल फोन परीक्षा केन्द्रमा लगेका थिए । उनीहरूबाट मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लाका २७ वटा परीक्षा केन्द्रमा सञ्चालन गरिएको लिखित परीक्षामा कुल ६ हजार ८३६ जना परीक्षार्थी सहभागी भएका थिए ।
परीक्षाको निष्पक्षता, गोपनीयता तथा मर्यादा कायम राख्ने उद्देश्यले शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन निर्देशिकामा परीक्षा हलभित्र मोबाइल फोन लैजान नपाइने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार परीक्षा केन्द्रमा मोबाइल फोन फेला परेपछि जफत गरिएको हो ।
परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न परीक्षा केन्द्रमा मोबाइल फोनलगायत निषेधित सामग्री लैजान नपाइने नियमको पालना गर्न आयोगले परीक्षार्थीलाई निर्देशन दिँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया