काठमाडौं । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियानअन्तर्गत गोकर्णेश्वर क्षेत्रको उत्तर वाहिनीमा सफाइ गरिएको छ ।
महाअभियानको ७०७औँ हप्ताका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर वाहिनी क्षेत्रमा सफाइ कार्यक्रम सञ्चालन गरिएको हो । वाग्मती नदीको मुहान क्षेत्र नै प्रदूषित हुन थालेपछि त्यस क्षेत्रको सरसफाइमा विशेष ध्यान दिइएको महाअभियानले जनाएको छ ।
सफाइ अभियानका क्रममा वाग्मती नदी किनार तथा गोकर्णेश्वर महादेव मन्दिर वरपर जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले नदीको मुहान क्षेत्रलाई स्वच्छ र सफा राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
सफाइ कार्यक्रममा काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, स्थानीयवासी, वाग्मती माथिल्लो सरसफाइ अभियानका अभियानकर्मी तथा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीको सहभागिता रहेको थियो ।
यसैबीच, सफाइ अभियानकर्मी खगेन्द्र कार्कीको जन्मदिनको अवसर पारेर गोकर्ण ड्याम क्षेत्रस्थित वाग्मती नदीमा माछाका भुरा छोडिएको छ । त्यसैगरी गोकर्णेश्वर महादेव मन्दिर नजिकै रुद्राक्षको बिरुवा रोपिएको छ । वातावरण संरक्षण, नदीको जैविक विविधता जोगाउने र हरियाली प्रवर्द्धन गर्ने सन्देशसहित यी कार्यक्रम गरिएको हो ।
वाग्मती सफाइ महाअभियान विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको हो । अभियान सुरु भएयता काठमाडौं उपत्यकाका मुख्य नदी तथा सहायक नदी, चक्रपथका विभिन्न खण्ड र धार्मिक एवं सांस्कृतिक सम्पदा क्षेत्रमा नियमित रूपमा सरसफाइ हुँदै आएको छ ।
महाअभियानको प्रभाव र प्रेरणासँगै काठमाडौं उपत्यकाबाहिरका मुख्य नदी, सहर तथा सम्पदा स्थलमा पनि सफाइ अभियान विस्तार भएको छ । हाल देशभर १११ भन्दा बढी स्थानमा सरसफाइ अभियान सञ्चालन भइरहेको जनाइएको छ ।
वाग्मती सफाइ महाअभियानले नदी तथा सार्वजनिक स्थलको सरसफाइसँगै नागरिकमा वातावरण संरक्षणप्रतिको जिम्मेवारी र स्वयंसेवी भावनाको विकासमा समेत योगदान पुर्याउँदै आएको छ । नदीलाई स्वच्छ राख्न सरकारी निकायसँगै स्थानीय समुदाय र सर्वसाधारणको निरन्तर सहभागिता आवश्यक रहेको अभियानले जोड दिँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया