काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतियोगिताका लागि टोली सार्वजनिक गरेको हो ।
घोषित टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन् ।
नेपालमै आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आगामी मङ्सिर १८ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले इटालीसँग खेल्दै प्रतियोगिता सुरु गर्ने
प्रतियोगितामा नेपालले पहिलो खेल मङ्सिर १८ गते इटालीसँग खेल्नेछ । त्यसपछि मङ्सिर २० गते युगाण्डा, मङ्सिर २४ गते संयुक्त अरब इमिरेट्स (युएई) र मङ्सिर २६ गते जर्सीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
त्यस्तै, नेपालले मङ्सिर २८ गते क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतसँग खेल्नेछ ।
नेपालले प्रतियोगिताका आफ्ना सातवटै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ ।
शीर्ष चार टोली अर्को चरणमा पुग्ने
प्रतियोगितामा सहभागी आठवटै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको अङ्क तालिकामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले अर्को चरणमा स्थान बनाउनेछन् ।
अङ्क तालिकाको बाँकी चार स्थानमा रहने टोलीको भने प्रतियोगिताबाट यात्रा समाप्त हुनेछ ।
घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालले सातवटै टोलीसँग प्रतिस्पर्धा गर्ने भएकाले हरेक खेल महत्त्वपूर्ण हुनेछ । विश्वकप छनोटको अर्को चरणमा पुग्ने लक्ष्यसहित नेपाली टोलीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया