चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी मुहम्मद जिसान अली

224 Shares

पाकिस्तानका अन्तरिक्ष यात्री मुहम्मद जिसान अली चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्ने भएका छन् । उनी चीनको ‘शेन्झाउ–२४’ अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट भएका हुन् ।

चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै महिनौँसम्म कठिन प्रशिक्षण पूरा गरेका अली ऐतिहासिक अन्तरिक्ष यात्राका लागि तयार भएका छन्। उनले आफू व्यक्तिगत रूपमा मात्र नभई पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तरिक्षमा जान लागेको बताएका छन् ।

सन् २०२६ मा चीन र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । यही अवसरमा अन्तरिक्ष मिसनमा सहभागी हुन पाउनुलाई उनले दुई देशबीचको मित्रताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

चीन र पाकिस्तानबीच सन् २०२५ फेब्रुअरीमा पाकिस्तानी अन्तरिक्ष यात्री छनोट तथा प्रशिक्षण गर्ने सम्झौता भएको थियो। त्यसपछि अलीसहित दुई पाकिस्तानी अन्तरिक्ष यात्री प्रशिक्षणका लागि चीन पुगेका थिए। उनीहरूले अन्तरिक्ष प्रविधि, आधारभूत तालिम, चिनियाँ भाषा तथा आपत्कालीन अवस्थासम्बन्धी अभ्यास पूरा गरेका छन् ।

अन्तरिक्ष यात्राका क्रममा अलीले टोलीका अन्य सदस्यसँग नियमित कार्य गर्नुका साथै चीन–पाकिस्तान संयुक्त अन्तरिक्ष विज्ञानसम्बन्धी प्रयोगमा सहभागी हुनेछन् । केही समय अन्तरिक्षमा बिताएपछि अन्तरिक्षयानमार्फत पृथ्वीमा फर्किने कार्यक्रम रहेको छ ।