न्यायमा पहुँच नहुँदा लैङ्गिक हिंसापीडित थप गरिबीको चपेटामा ः मन्त्री वादी

35 Shares

महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले न्यायमा पहुँच नहुँदा लैङ्गिक हिंसापीडितहरू थप गरिबीको चपेटामा पर्ने गरेको बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार आयोजित कार्यक्रममा उहाँले समयमै न्याय, संरक्षण र पुनःस्थापना नपाउँदा पीडितको शिक्षा, रोजगारी तथा आयआर्जनमा असर पर्ने बताउनुभयो ।

नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र ८ प्रतिशतले यौन हिंसा भोगेका छन् । हिंसापीडितमध्ये ५८ प्रतिशत महिलाले कसैसँग सहयोग नमागेको मन्त्री वादीले जानकारी दिनुभयो ।

उहाँले सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायताको अभाव र न्यायिक प्रक्रियाको उच्च खर्चका कारण पीडितहरू न्यायबाट वञ्चित भइरहेको बताउनुभयो । लैङ्गिक हिंसा अन्त्यका लागि गरिने लगानीलाई खर्च नभई दिगो आर्थिक विकासको आधारका रूपमा लिनुपर्ने उहाँको भनाइ छ। साथै, न्याय प्रणालीलाई पीडितमैत्री, छिटोछरितो र कम खर्चिलो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले पीडितको उद्धार, संरक्षण, पुनःस्थापना, निःशुल्क कानुनी सहायता तथा सुरक्षित आवासको व्यवस्था विस्तार गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।