सिरियाद्वारा दमास्कस–अलेप्पो र अलेप्पो–मस्को हवाई सेवा पुनः सुरु

66 Shares

सिरियाली राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले दमास्कस–अलेप्पो र अलेप्पो–मस्को हवाई सेवा पुनः सञ्चालनमा ल्याएको छ । सन् २०२४ डिसेम्बरमा तत्कालीन सिरियाली सरकारको पतनपछि पहिलोपटक बुधबार दमास्कसबाट अलेप्पोका लागि नियमित आन्तरिक उडान सञ्चालन गरिएको हो ।

दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सिरियाली एयरलाइन्सको पहिलो विमान अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सिरियाको नागरिक उड्डयन तथा हवाई यातायात महानिर्देशनालयका सञ्चार निर्देशक मुस्तफा खैरल्लाहले जानकारी दिएका छन् ।

यसअघि नै देइर अल–जोरका लागि आन्तरिक उडान सुरु भइसकेको छ। अलेप्पो सिरियाको दोस्रो आन्तरिक हवाई गन्तव्य बनेको छ । साथै, चाँडै कमिश्लीका लागि समेत उडान सञ्चालन गर्ने तयारी भइरहेको छ । दमास्कस–अलेप्पो हवाई सेवा सातामा एकपटक सञ्चालन हुनेछ ।

सिरियाली एयरलाइन्सले बुधबार नै अलेप्पोबाट रुसको राजधानी मस्कोका लागि पनि उडान सुरु गरेको छ । सन् २०२४ डिसेम्बरपछि पहिलोपटक अलेप्पो–मस्को हवाई मार्गमा सेवा सञ्चालन गरिएको हो । नयाँ हवाई सेवाको सुरुवातसँगै सिरियाले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क पुनःस्थापना गर्ने प्रयासलाई अघि बढाएको छ । यसले देशको हवाई यातायात सेवा विस्तार र अन्तर्राष्ट्रिय सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।