झापामा धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

13 Shares

झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिन र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु घएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुषको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार राति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ स्थित खटखटी टोलको चारपाने–राजगढ सडकखण्डमा दुर्घटना भएको हो ।

राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा रहेका दुवै जना गम्भीर घाइते भएका थिए । तीमध्ये अन्दाजी ३० देखि ३५ वर्ष उमेरका एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइतेको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक दुवैको नाम र ठेगाना भने खुल्न बाँकी रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार दुर्घटनापछि धान काट्ने मेसिनका चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै मृतकको सनाखत गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।