काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा २२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा अलआउट भयो ।
काठमाडौंका लागि साहिल पटेलले सर्वाधिक ३४ रन बनाए । उनले २३ बलमा चार चौका र एक छक्का प्रहार गरे । राशिद खानले ३१, सोनु देवकोटाले २९, विलियम बोसिस्टोले २६ र जहान्दाद खानले २४ रन जोडे । भीम सार्कीले आठ, सहान अराचिगेले एक, करण केसीले शून्य, सन्तोष यादवले शून्य, सुमित महर्जनले तीन र गणेश गौतमले अविजित शून्य रन बनाए ।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा पोखराका दिनेश खरेलले चार विकेट लिए । उनले १८ रन खर्चिए । विपिन खत्रीले तीन तथा रमेश मेन्डिस, युवराज सम्रा र सन्नी बीकेले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनाएको थियो । पोखराका लागि कुशल भुर्तेलले ९९ र युवराज सम्राले ८९ रन बनाए ।
भुर्तेलले ५१ बलमा आठ चौका र आठ छक्का प्रहार गरे । उनी शतक बनाउन एक रनले चुके । सम्राले ५५ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे । यी दुईबीच दोस्रो विकेटका लागि १८६ रनको साझेदारी भएको थियो ।
ओपनर अर्जुन कुमाल पाँच रनमा आउट भए । कप्तान चामिका करुणारत्नेले सात बलमा एक चौका र दुई छक्कासहित अविजित १९ रन बनाए । धनञ्जय लक्षान दुई रनमा अविजित रहे ।
काठमाडौंका करण केसीले दुई तथा जहान्दाद खानले एक विकेट लिए । करणले चार ओभरमा ३४ र जहान्दादले चार ओभरमा ४७ रन खर्चिए ।
पोखराले बनाएको २२४ रन एनपीएल इतिहासकै सर्वाधिक योगफल हो । भुर्तेल र सम्राको १८६ रनको साझेदारी पनि प्रतियोगिताको कीर्तिमानी साझेदारी बनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया