काठमाडौं । कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी सन्दीप लामिछानेलाई दिइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा सन्दीपसँगै बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन् ।
नोभेम्बर १९ देखि २९ सम्म हुने प्रतियोगितामा नेपालले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् । समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् ।
प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्ना ‘ए’ टोली उतार्नेछन् । नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोलीबाट खेलाडी सहभागी गराउन सक्नेछन् । यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग भिड्नेछ ।
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपसँगै एसिया कपका लागि पनि स्थान पक्का गरेको थियो । उक्त प्रतियोगितामा दोस्रो भएको यूएई र तेस्रो स्थान हासिल गरेको हङकङले पनि राइजिङ स्टार्स एसिया कपमा प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया