काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा विगत डेढ दशकदेखि निरन्तर सक्रिय गायक तथा संगीतकार चेतन राई पछिल्लो समय विभिन्न मेला तथा महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल भइरहेका छन्।
यसैक्रममा गायक राईले गत मंसिर १६ गते आयोजित दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८३ र मंसिर १९ गते आयोजित चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव–२०८३ मा आफ्नो सशक्त सांगीतिक प्रस्तुति दिएका थिए।
दुवै महोत्सवमा उनले आफ्ना नयाँ तथा पुराना गरी दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे। उनको ऊर्जाशील प्रस्तुति, आकर्षक गायनशैली र दर्शकसँगको आत्मीय संवादले महोत्सवको माहोल नै संगीतमय बनेको थियो। राईका गीतमा दर्शकहरू नाच्दै, गाउँदै र रमाउँदै भरपुर मनोरञ्जन लिइरहेका थिए।
नेपाली संगीत क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव बटुलेका चेतन राई गायनसँगै संगीत सिर्जनामा समेत सक्रिय छन्। आफ्नो कला, मेहनत र निरन्तरताका कारण उनले सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएका छन्। मेला तथा महोत्सवका मञ्चमा उनले देखाउँदै आएको प्रस्तुति र दर्शकसँग जोडिने शैलीले उनको सांगीतिक सक्रियता र व्यावसायिक परिपक्वतालाई समेत उजागर गरेको छ।
महोत्सवमा राईसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरू धिरज राई, पशुपति शर्मा, निशा देशार, जितु लोप्चन र भोजराज काफ्लेलगायतले पनि आ–आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको विविध प्रस्तुतिले दुवै महोत्सवलाई थप उत्साहपूर्ण, मनोरञ्जनात्मक र उल्लासमय बनाएको थियो।
नेपाली गीतसंगीतलाई आफ्नो कर्म र पहिचान बनाउँदै आएका चेतन राईले विभिन्न मेला तथा महोत्सवमार्फत दर्शक–श्रोतामाझ आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्। उनको निरन्तर सांगीतिक यात्रा, सिर्जनशीलता र मञ्चीय प्रस्तुतिले नेपाली संगीत क्षेत्रमा थप सम्भावना र उत्साह जगाएको छ। आगामी दिनमा पनि उनले यस्तै दमदार प्रस्तुतिमार्फत दर्शक–श्रोताको मन जित्दै नेपाली संगीतको यात्रालाई निरन्तरता दिने अपेक्षा गर्न सकिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया