काठमाडौंमा फूल तथा माला किन्नेको चहलपहल

21 Shares

काठमाडौँ । तिहार नजिकिएसँगै राजधानीका फूल तथा माला पसलहरूमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ।

तिहारमा विशेषगरी भाइटीकाका लागि दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला तथा घर सजावटका लागि आवश्यक सयपत्री, गोदावरी र मखमली फूल किन्नेको बजारमा भीड बढेको हो।

तिहारलाई फूल तथा मालाको पर्वका रूपमा समेत लिइन्छ। यस पर्वमा फूलका माला लगाउनुका साथै घरका झ्याल, ढोका, दियोघर, कलशलगायत सजावटमा फूल प्रयोग गरिने भएकाले बजारमा यसको माग उच्च हुने गरेको छ। अहिले घर, कार्यालय तथा विभिन्न व्यापारिक प्रतिष्ठान सजाउन र भाइटीकाका लागि माला खरिद गर्न उपभोक्ता व्यस्त देखिन्छन्।

काठमाडौं महानगरपालिकाले व्यवसायी र उपभोक्ताको सहजताका लागि फूल तथा माला बिक्री गर्ने स्थानसमेत तोकेको छ। महानगरले तोकेका क्षेत्रमा व्यवसायीले पसल राखेर फूलमाला बिक्री गरिरहेका छन् भने उपभोक्ताले त्यहीँबाट खरिद गरिरहेका छन्।

महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा एनबी सेन्टर र आईप्लेक्स मल, शंखमूलको बिग मार्ट, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई बिक्रीस्थल तोकेको छ।

त्यस्तै, चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावरअगाडि स्वदेशी फूलमाला बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।

यसैगरी, कमलादीस्थित आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीको बुद्ध मल र गुणस्तर खाल्डोलाई पनि स्वदेशी फूलमाला बिक्रीस्थलका रूपमा तोकिएको छ।

महानगरले तोकेका यी स्थानबाट स्वदेशी फूल तथा माला बिक्री भइरहेको छ। काठमाडौं महानगरपालिकाले स्वदेशी फूल तथा माला बिक्रीलाई प्रवर्द्धन गर्दै आएको छ।

तिहारको रौनक बढेसँगै उपभोक्ता कोही माला किन्न व्यस्त देखिन्छन् भने कोही घर तथा पसल सजावटमा लागेका छन्। आइतबार लक्ष्मीपूजा भएकाले पनि अहिले घर सजाउने काम भइरहेको छ।