सिन्धुली, सिरहा र महोत्तरीका नागरिकलाई केएमसीमा उपचार गर्दा विशेष छुट

21 Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माको पहलमा सिन्धुली, सिरहा र महोत्तरीका नागरिकले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन् ।

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले डा. शर्माको उपस्थितिमा केएमसी र नेपाली कांग्रेसका स्थानीय तह, क्षेत्र तथा जिल्ला तहका सभापतिहरूबीच उपचारमा छुट उपलब्ध गराउने सम्झौता गरिएको हो ।

सम्झौताअनुसार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत, काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २० प्रतिशत छुट पाइनेछ । यो सुविधा नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधाको पूर्ण उपयोग गरिसकेपछि बाँकी उपचार खर्चमा लागू हुनेछ ।

स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा गराए पनि सेवा सक्रिय नभइसकेका बिरामीले समेत यो सुविधा पाउनेछन् ।

सम्झौता कार्यक्रममा डा. शर्माले अति विपन्न तथा असहाय नागरिकलाई आवश्यकताअनुसार शतप्रतिशतसम्म उपचार छुट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । आर्थिक अभावकै कारण कसैले पनि उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो । सामान्य सहुलियतले मात्र उपचार सम्भव नहुने अवस्थाका नागरिकलाई समेत अस्पतालले विशेष प्राथमिकताका साथ सहयोग गर्ने उनले बताए ।

सम्झौताअनुसार ओपीडी दर्ता, जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, प्रयोगशाला परीक्षण, सीटी स्क्यान, एमआरआई, एक्सरे, ईसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, ईएनटी, फिजियोथेरापी तथा दन्त उपचारलगायतका प्रत्यक्ष उपचारसँग सम्बन्धित सेवामा छुट उपलब्ध हुनेछ । सम्झौतापत्रमा उल्लेखित सेवागत सूचीअनुसार केही सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

तर, आईभीएफ, प्लास्टिक सर्जरी, प्रत्यारोपण, कस्मेटिक सर्जरी तथा न्युरो इन्टरभेन्सनलगायतका सेवामा छुट पाइने छैन । क्याबिनमा बसेर उपचार गराउँदा पनि छुट लागू हुने छैन । औषधि तथा चिकित्सकीय सामग्री, इम्प्लान्ट, शल्यक्रियामा प्रयोग हुने सामग्री र उपभोग्य सामग्रीमा समेत छुटको व्यवस्था गरिएको छैन । छुट प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवामा मात्र लागू हुनेछ ।

सहुलियत लिनका लागि बिरामीले सम्बन्धित नेपाली कांग्रेसको स्थानीय तह, क्षेत्र वा जिल्लाबाट सिफारिसपत्र लिएर अस्पताल आउनुपर्नेछ ।

यसैक्रममा शनिबार सिन्धुली जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका नेपाली कांग्रेसका सभापतिहरूसँग केएमसीले सम्झौता गरेको हो । डा. शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू, कांग्रेस नेत्री उषा गुरुङ, धनकुटा जिल्ला सभापतिलगायतको उपस्थिति थियो ।

सम्झौतापत्रमा केएमसीका तर्फबाट प्रशासन प्रमुख नारायण दाहालले हस्ताक्षर गरेका थिए । त्यस्तै, कमलामाई नगरपालिकाका कांग्रेस सभापति समुद्र श्रेष्ठ, तीनपाटन गाउँपालिका सभापति लालबहादुर स्याङ्ताङ, घ्याङलेख गाउँपालिका सभापति श्याम कर्माचार्य र सिन्धुली क्षेत्र नम्बर २ का सभापति विजय कुँवरलगायतले हस्ताक्षर गरेका छन् ।

अब सिरहा र महोत्तरी जिल्लाका सम्बन्धित स्थानीय तह तथा क्षेत्रका कांग्रेस सभापतिहरूसँग पनि सम्झौता गरिने जनाइएको छ । सम्झौताको अवधि २०८४ साल असार मसान्तसम्म रहनेछ ।

समाजसेवामा सक्रिय डा. शर्मा लामो समयदेखि आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई सहयोग गर्दै आएका छन् । निःशुल्क उपचार, स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक सेवामार्फत नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने अभियानमा उनको संलग्नता रहँदै आएको छ । सोही सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै तीन जिल्लाका नागरिकलाई अस्पतालमा उपचार गराउँदा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।