काठमाडौंका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु, बजारमा बढ्यो चहलपहल

19 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्धारण गरेका ३३ वटा स्थानबाट स्वदेशी फूलको बिक्री सुरु भएको छ। बिक्री सुरु भएसँगै महानगरका विभिन्न क्षेत्रमा फूल किन्ने र बेच्नेको चहलपहल बढेको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले बिक्री केन्द्रका रूपमा तोकेको स्वयम्भूस्थित भगवान पाउ क्षेत्रमा पनि बिहानैदेखि व्यापारी र उपभोक्ताको आवतजावत बढेको छ।

प्लास्टिकका माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री र भण्डारणमा सरकारले रोक लगाएपछि स्वदेशी फूलको बजार विस्तारमा महानगरले जोड दिएको हो।

नेपाली किसानले उत्पादन गरेका फूलले सहज बजार पाऊन् र चाडपर्वका बेला हुने माग स्वदेशी उत्पादनबाटै परिपूर्ति होस् भन्ने उद्देश्यले बिक्रीका लागि निश्चित स्थानको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।