काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि शानदार जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा काठमाडौंले विराटनगरलाई ९ विकेटले पराजित गरेको हो।
विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले मात्र ९.४ ओभरमा १ विकेट गुमाउँदै सहजै पूरा गर्यो। यस जितसँगै काठमाडौंले प्रतियोगितामा आफ्नो बलियो प्रदर्शन प्रस्तुत गरेको छ।
काठमाडौंको जितमा ओपनर डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरे। उनले २४ बलको सामना गर्दै २ चौका र ३ छक्काको मद्दतमा अविजित ४४ रन बनाए। त्यस्तै, विलियम बोसिस्टोले पनि अविजित रहँदै २४ बलमा ३ चौकासहित २३ रनको योगदान दिए।
साहिल पटेलले ११ बलमा १० रन बनाएर आउट भए। उनलाई विराटनगरका अपराजित पौडेलले आउट गरेका थिए। अपराजितले २ ओभरमा १६ रन खर्चिएर काठमाडौंको एक मात्र विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सको प्रदर्शन भने निराशाजनक रह्यो। विराटनगरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८३ रन बनाउन सक्यो।
विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, एन्जेलो म्याथ्युजले ३१ बलमा १ चौकासहित २२ रन जोडे।
अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। बासिर अहमदले १४ बलमा १० रन, लोकेश बमले १० बलमा ६ रन र शेहान जयसूर्याले ८ बलमा ५ रन बनाए। सन्दीप लामिछाने ३ रनमा अविजित रहे।
अपराजित पौडेलले २ रन र आन्द्रे रसेलले ३ रन बनाए। इमरान शेख, नारायण जोशी र शुभम रञ्जने भने खाता नै नखोली पेभेलियन फर्किए।
काठमाडौंका बलरले सुरुदेखि नै विराटनगरको ब्याटिङ लाइनअपमाथि दबाब सिर्जना गरेका थिए। काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, जहान्दाद खान र सहान अराचिगेले समान २–२ विकेट हात पारे।
करण केसी, शाहाब आलम र देव शाहले पनि समान १–१ विकेट लिएपछि विराटनगर ८३ रनमै समेटिएको थियो।
कमजोर ब्याटिङका कारण विराटनगरले प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन। जवाफमा काठमाडौंका वार्नर र बोसिस्टोले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
समग्रमा बलिङ र ब्याटिङ दुवै पक्षमा प्रभावशाली प्रदर्शन गरेको काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया