नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । घर सजावट, पूजाका सामग्री, मिठाई, फलफूल र भाइटीकाका लागि आवश्यक सामान खरिद गर्न उपभोक्ता बजार पुग्न थालेका छन् । तिहारको मुख्य आकर्षणमध्ये एक मानिने भाइटीकाका लागि प्रयोग हुने भाइमसलाको मूल्य भने यस वर्ष महँगिएको छ ।
विशेषगरी काजु, बदाम, पेस्ता, किसमिस र मखनाको मूल्य बढ्दा उपभोक्ताको खर्चसमेत बढेको छ । बजारमा पेस्ता प्रतिकिलो करिब चार हजार रुपैयाँ पुगेको छ । काजु दुई हजारदेखि दुई हजार दुई सय रुपैयाँ, मखाना दुई हजार रुपैयाँ, नरिवल एक हजार रुपैयाँ तथा किसमिस पाँच सयदेखि छ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
व्यापारीहरूले आयातमा देखिएको समस्या, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिलाई भाइमसलाको मूल्य बढ्नुको कारण बताएका छन् । महँगो मूल्यका कारण उपभोक्ताले आफ्नो आर्थिक अवस्थाअनुसार आवश्यक सामग्री खरिद गरिरहेका छन् ।
काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वरलगायत व्यापारिक क्षेत्रमा तिहारका सामग्री किन्नेको चहलपहल बढेको छ । फूलमाला, दियो, बिजुली बत्ती, मिठाई र उपहारका सामानको बिक्री पनि बढ्न थालेको छ । चाडपर्वको मौका छोपेर हुन सक्ने कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने माग उठेको छ ।
तिहारको किनमेलमा व्यस्त उपभोक्ताले गुणस्तरीय सामान उचित मूल्यमा पाउनुपर्ने अपेक्षा गरेका छन् । दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम र सद्भाव साटासाट गर्ने पर्वका रूपमा मनाइने तिहारले बजारमा रौनक थपे पनि बढ्दो महँगीले यसपटक उपभोक्ताको चाडपर्व खर्च भने बढाउने देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया