भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

9 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने हुन् कि भन्ने डर लागिरेहको टिप्पणी गर्नुभयो ।

उहाँले नेपालले चीन र भारत दुवै छिमेकी मुलुकसँग समान र सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीभित्रको आन्तरिक सुशासनबिना राज्य र समाजमा सुशासन कायम गर्न नसकिने समेत उल्लेख गर्नुभयो । मुलुकमा सुशासन कायम नगरी गरिबी उन्मूलन, नयाँ विकास मोडेलको कार्यान्वयन र समाजवाद निर्माण सम्भव नरहेको उहाँको दाबी छ ।

उहाँले चीन र भारत दुवैसँगको सम्बन्धमा कुनै प्रकारको हेलचेक्र्याइँ, गैरजिम्मेवारी र हीनताबोध प्रदर्शन गर्न नहुने समेत बताउनुभयो । नेता श्रेष्ठले वर्तमान सरकारले नेपालको स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने भएपनि त्यस दिशामा अघि बढिरहेको नदेखिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीभत्र सुशासन र राज्यको आन्तरिक सुशासन बिना समाजमा सुशासन कायम गर्न सकिन्न । सुशासन बिना गरिबी उन्मुलन गर्न सकिन्न । नयाँ मोडेलको विकास अगाडि बढाउन समेत सकिँदैन । र चिनियाँ विशेषताको आधुनिक समाजवाद निर्माण गर्न सकिन्न । त्यसकारणले गुड गभर्नेन्स विथ इन द पार्टी आवश्यक छ । त्यसो गर्न सके मात्रै हामी गुड गभर्नेन्स इन द स्टेट एन्ड सोसाइटी बनाउन सक्छौँ । यसको लागि नेपालका कम्युनिष्ट पार्टीहरुले चीनको कम्युनिष्ट पार्टीलाई बुझ्न आवश्यक छ । जनता र जनताबीचको सम्बन्धलाई मजबुत बनाउन पनि मद्दत गर्छ । यसले हामीलाई विश्वमा तनाव वा युद्ध नभई शान्ति र साझा विकासको भविष्यतिर लैजानको निम्ति समेत प्रोत्साहित गर्छ । त्यसकारण हामीले चीन र भारत दुवै छिमेकी मित्रहरूसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम राख्नै पर्छ । यसमा हामीले कुनै पनि प्रकारको हेलचक्राईं, जिम्मेवारीपन हिनता ग्रन्थीको प्रदर्शन गर्नुहुँदैन । कुनै एउटा वा अर्को दुवै छिमेकी मित्रहरूसँग हामीले एकनासको सम्बन्ध स्थापित गर्नुपर्छ । हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितलाई केन्द्रबिन्दुमा राखेर हामीले परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ । हाम्रो सबैभन्दा बढी ध्यान राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा केन्द्रित हुनुपर्छ । अहिलेको सरकारले हाम्रो स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्छ । त्यसमा कुनै विवाद हुनुहुँदैन । तर सरकार त्यस दिशामा अगाडि बढेको देखिँदैन । दुःख लाग्यो, हाम्रो एकजना मन्त्री हुनुहुन्छ, संसदमै डक्ट्रिनलाई सम्मान गर्नुपर्छ भन्नुहुन्थ्यो । दिल्लीमा गएर भारत विरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्नुभएछ । अहिलेको सरकारदेखि मलाई निकै डर लागेको छ कतै चीनमा गएर चीनसँगको सुमधुर मित्रता हाम्रो राष्ट्रिय राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने पो हुन् कि ।’

उहाँले नेपालको राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा नै परराष्ट्र नीतिको प्रमुख आधार हुनुपर्नेमा जोड दिनुभयो ।