तिहारअघि सुक्खा फलफूल र भाइमसलाका सामग्री किन्न ३ अर्बभन्दा बढी विदेशियो

11 Shares

तिहार नजिकिँदै गर्दा नेपाली बजारमा भाइमसलाको कारोबार बढ्ने तयारी भइरहँदा यसका लागि आवश्यक सुक्खा फलफूल तथा अन्य सामग्रीको आयातमा ठूलो रकम बाहिरिएको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि असोजसम्म नेपालले ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सुक्खा फलफूल तथा नट्स आयात गरेको छ ।

आयातित सामग्रीमध्ये ओखर, काजु र बदामको हिस्सा उल्लेख्य छ । यी तीन वस्तुको आयातमा मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई दिने भाइमसलामा यस्ता सामग्री प्रयोग हुने भएकाले चाडपर्वको समयमा यसको माग बढ्ने गर्छ ।

यस अवधिमा सुपारी मात्रै ३२ लाख ४० हजार किलो आयात भएको छ । यसको आयात मूल्य करिब ८४ करोड ७७ लाख रुपैयाँ रहेको तथ्यांकले देखाउँछ । बदाम मुख्यतः अमेरिका, ओखर चीन तथा काजु भारत र भियतनामबाट आयात हुने गरेको छ ।

तिहारमा प्रयोग हुने भाइमसलाका सामग्रीको ठूलो हिस्सा विदेशबाट आउने तथ्यले चाडपर्वमा नेपाली बजारको आयात निर्भरता पनि देखाउँछ । स्वदेशमै उत्पादन तथा प्रशोधन बढाउन सके यस्ता सामग्रीको आयात घटाउन सकिने सम्भावना रहेको छ ।