मोरङको लेटाङ नगरपालिका–५ का ३७ वर्षीय पदमबहादुर रायलाई मृत ठानेर अन्त्येष्टि गरिएको आठ महिनापछि उनी जीवितै घर फर्किएका छन् । उनी फर्किएपछि प्रहरीले त्यतिबेला पदमबहादुरको शव ठानेर दाहसंस्कार गरिएको व्यक्तिको वास्तविक पहिचानबारे पुनः अनुसन्धान थालेको छ ।
२०८३ जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए । उपचारका क्रममा विराट टिचिङ अस्पतालमा उनको मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो । मृतकको पहिचान खुलाउन प्रहरीले सार्वजनिक सूचना जारी गरेपछि पदमबहादुरकी आमा अस्पताल पुगेकी थिइन् ।
उनले शव आफ्नै छोराको भएको बताएपछि प्रहरीले शव परिवारलाई बुझाएको थियो । परिवारले जेठ २७ गते अन्त्येष्टि गरेको थियो। पदमबहादुरको मृत्यु भएको विश्वासमा परिवारले दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँसमेत प्राप्त गरेको थियो । तर, उनी जीवितै फर्किएपछि बीमा भुक्तानी र शवको पहिचान दुवै विषय पुनः अनुसन्धानको दायरामा आएका छन् । मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडिओ अध्ययन गरिरहेको छ ।
परिवारले बीमाबापत प्राप्त रकम फिर्ता गर्ने बताएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धान अब दुई मुख्य प्रश्नमा केन्द्रित छ—दुर्घटनामा मृत्यु भएका व्यक्ति वास्तवमा को थिए र परिवारले शवलाई पदमबहादुरकै भनेर कसरी पहिचान ग¥यो? प्रहरीका अनुसार पदमबहादुर २०८२ माघदेखि घरबाहिर थिए । उनी जीवितै फर्किएपछि त्यसबेला अन्त्येष्टि गरिएको व्यक्तिको पहिचान खुलाउने चुनौती प्रहरीसामु देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया