जनकपुरविरुद्ध काठमाण्डौंले टस जित्यो, पहिले ब्याटिङ गर्ने

10 Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ ।

काठमाण्डुको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ ।

उसले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पराजय व्यहोरेको थियो । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुने तालिका छ । उक्त खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ ।

विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो । सोमपाल कामी नेतृत्वको कर्णाली भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ ।

उसले पहिलो खेलमा पूर्वविजेता जनकपुरलाई १९ रनले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो । कर्णाली आज पनि सोही जित लय जारी राख्ने योजनामा छ ।

एनपिएलमा आठ वटा टोली प्रतिस्पर्धामा छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म जारी रहने छ ।