मध्यपूर्वमा तनाव बढ्ने आशंका, इजिप्टद्वारा साउदी र यूएईसँग कूटनीतिक छलफल

61 Shares

मध्यपूर्वमा क्षेत्रीय तनाव थप बढ्न सक्ने चिन्ताबीच इजिप्टका विदेशमन्त्री बद्र अब्देलात्तीले साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का समकक्षीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् । बुधबार सार्वजनिक गरिएको इजिप्टको विदेश मन्त्रालयले वार्तामा पछिल्लो क्षेत्रीय घटनाक्रम, सङ्कट नियन्त्रण र तनाव थप फैलिन नदिने उपायबारे छलफल भएको बताउनुभयो ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानसँगको कुराकानीमा दुवै पक्षले संवादमार्फत राजनीतिक तथा शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । द्विपक्षीय परामर्शका साथै इजिप्ट, साउदी अरब, पाकिस्तान र टर्किए सम्मिलित चारदेशीय मन्त्रीस्तरीय संयन्त्रमार्फत समन्वय जारी राख्ने सहमति गरेका छन् ।  

यूएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँगको वार्तामा पनि क्षेत्रीय देशहरूबीच सहकार्य बढाउने विषयमा छलफल भएको छ । विदेशमन्त्री अब्देलात्तीले सङ्कटमा संलग्न पक्षलाई राजनीतिक संवादमा फर्काउन र परिस्थितिलाई थप गम्भीर बन्न नदिन संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौतीका बीच इजिप्टले कूटनीतिक संवाद र क्षेत्रीय समन्वयलाई प्राथमिकता दिएको छ । पछिल्ला छलफलको उद्देश्य जारी सङ्कटलाई नियन्त्रणमा राख्दै थप तनाव हुन नदिन शान्तिपूर्ण समाधानका प्रयास अघि बढाउनु रहेको इजिप्टको विदेश मन्त्रालयले जनाएको छ ।