देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार कात्तिक ११ देखि १५ गतेसम्म केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ ।
सम्भावित विपद्बाट स्वास्थ्य सेवा प्रभावित हुन नदिन मन्त्रालयले पूर्वतयारीलाई तीव्र बनाउन आग्रह गरेको हो । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य जनशक्ति, औषधि, उपकरण र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने आपतकालीन सम्पर्क व्यक्ति तोक्न तथा आकस्मिक चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राख्न पनि भनिएको छ । सम्भावित बाढी, पहिरो र डुबानका कारण प्रभावित हुन सक्ने क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पु¥याउन एम्बुलेन्स सेवाको प्रभावकारी परिचालन र सम्बन्धित निकायबीच समन्वय गर्न मन्त्रालयले जोड दिएको छ ।
स्वास्थ्य आपतकालीन केन्द्रहरूलाई विपद्सम्बन्धी घटनाको विवरण दैनिक रूपमा पठाउनसमेत निर्देशन दिइएको छ । वर्षा र हिमपातले सडक तथा हवाई यातायात, कृषि र जनजीवनमा समेत असर पार्न सक्ने जोखिम छ । त्यसैले सम्बन्धित निकायलाई पूर्वतयारीमा रहन र सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना पछ्याउन आग्रह गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया