बौद्ध वर्षावास समापन र डुङ्गा दौड महोत्सवले लाओसमा रौनक

14 Shares

एजेन्सी । बौद्ध वर्षावास समापन तथा परम्परागत डुङ्गा दौड महोत्सवका अवसरमा लाओसका नदी किनार झिलिमिली बत्ती, मानिसहरूको चहलपहल र उत्सवमय वातावरणले भरिएका छन् ।

धार्मिक परम्परा, सामुदायिक एकता र सांस्कृतिक उत्सवको सङ्गमका रूपमा मनाइने यस पर्वमा स्थानीय बासिन्दा तथा पर्यटक सहभागी भएका छन् ।

यस वर्ष अक्टोबर २६ मा परेको बौद्ध वर्षावास समापनका अवसरमा बिहानैदेखि धार्मिक गतिविधि सुरु भएका थिए । मानिसहरू पुण्य कमाउने उद्देश्यले मन्दिर पुग्ने, भिक्षुहरूलाई भिक्षादान गर्ने तथा भोजन अर्पण गर्ने गर्छन् ।

साँझपख नदी किनारमा मानिसहरूको भीड लाग्ने गर्छ । उनीहरूले फूल, मैनबत्ती र धूपले सजाइएका केराका पातबाट बनेका साना डुङ्गाहरू नदीमा प्रवाहित गर्छन् । नदीप्रति सम्मान प्रकट गर्ने उद्देश्यले गरिने यस परम्परालाई कतिपयले दुर्भाग्य र नकारात्मकता पखाल्ने प्रतीकका रूपमा समेत लिने गरेका छन् ।

लाओसका विभिन्न क्षेत्रमा वर्षावास समापनसँगै परम्परागत डुङ्गा दौड महोत्सव पनि आयोजना गरिन्छ । राजधानी भियन्टियानमा मङ्गलबार आयोजित डुङ्गा दौड महोत्सवले स्थानीय व्यापारीलाई आफ्ना उत्पादन बिक्री गर्ने अवसर प्रदान गरेको छ ।

महोत्सवमा सहभागी आगन्तुकहरूले परम्परागत सामग्री, स्थानीय परिकार तथा विभिन्न सांस्कृतिक गतिविधिमार्फत लाओसको संस्कृति र जीवनशैलीको अनुभव गर्ने अवसर पाएका छन् ।