चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा, भारी वर्षा र हिमपातको चेतावनी

45 Shares

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसममा बदलाव आउने र शुक्रबार तथा शनिबार विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपातको जोखिम औँल्याइएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्नेछ । वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।

यस मौसमी प्रणालीले हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम बढाउन सक्ने भएकाले पदयात्रा तथा आरोहणमा जानेहरूलाई यात्रा स्थगित गर्न र सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ । वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

सम्भावित वर्षाले धानबाली भित्र्याउने काममा असर पार्न सक्ने भएकाले किसानलाई मौसम प्रतिकूल हुनुअघि नै बाली सुरक्षित गर्न आग्रह गरिएको छ । सम्बन्धित निकायले विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन र सर्वसाधारणले आधिकारिक मौसम सूचना नियमित रूपमा पछ्याउन आवश्यक छ ।