सप्तकोशी डुङ्गा दुर्घटना ः तीन बेपत्ताको खोजीमा गोताखोर परिचालन

52 Shares

धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा भएको डुङ्गा दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी कार्य तीव्र पारिएको छ । सोमबार बिहानदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी गोताखोरसहित खोजीमा खटिएका छन् ।

आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको चतरातर्फ जाँदै गरेको यात्रुवाहक मोटरबोट दुर्घटनामा परेको थियो । डुङ्गामा ब्रेकमा समस्या आएपछि दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।

बेपत्ता हुनेमा झापाको कनकाई नगरपालिका–४ का सात वर्षीय शिवक मगर तथा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई रहेका छन् । दुर्घटनामा घाइते भोजपुरका मोहन सुनारको चतरा अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीका सात जना गोताखोरसहित प्रहरी टोली परिचालन गरिएको छ । सुरक्षाकर्मीले नदीभित्र र आसपासका किनारमा खोजी गरिरहेका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।