असोजमा विद्युत् निर्यातबाट करिब ६ अर्ब आम्दानी, बंगलादेशमा आपूर्ति पुनः सुरु

50 Shares

नेपालले चालु आर्थिक वर्ष २०८३÷८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत् निर्यातबाट प्राप्त रकम गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा बढेको हो ।

असोजमा भारततर्फ ६३ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात भएको छ । भारतको हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय सम्झौताअन्तर्गत तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत विद्युत् बिक्री गरिएको हो । गत वर्षको असोजमा विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनामा भने विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली र चिलिमे जलविद्युत् आयोजनामा क्षति पुगेपछि गत भदौदेखि रोकिएको निर्यात कात्तिक ६ गते साँझबाट पुनः सञ्चालनमा आएको हो । सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएपछि भारततर्फ निर्यात गर्न स्वीकृत कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ। वर्षायाममा आन्तरिक माग पूरा गरेपछि बचत हुने विद्युत् छिमेकी मुलुकमा बिक्री गर्दा नेपालको ऊर्जा व्यापार र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।