कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन, महालक्ष्मीको पूजाआराधना गरिँदै

49 Shares

नेपालीहरुको प्रमुख चाड बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै औपचारिक रूपमा समापन हुँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा धन, ऐश्वर्य र समृद्धिकी देवी महालक्ष्मीको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाको मुख्य विशेषता साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्नु हो ।

धार्मिक मान्यताअनुसार ‘को जागेको छ?’ भन्ने अर्थ लाग्ने ‘कोजाग्रत’ शब्दबाट यस पर्वको नाम रहन गएको हो । यस रात जाग्राम बस्ने भक्तजनलाई महालक्ष्मीले धनधान्य र समृद्धिको आशीर्वाद दिने विश्वास गरिन्छ । यस दिनसँगै विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने दसैँको परम्परा पनि समाप्त हुन्छ । घटस्थापनाका दिन जमराघरमा राखिएको जमरा धार्मिक विधिअनुसार नदी, तलाउ वा अन्य पवित्र जलाशयमा विसर्जन गर्ने चलन रहेको छ ।

कोजाग्रत पूर्णिमा केवल धार्मिक आस्थासँग मात्र नभई बडादसैँको समापनसँग पनि जोडिएको छ । यस दिनले दसैँका क्रममा परिवार र आफन्तबीच भएको भेटघाट, आशीर्वाद आदानप्रदान तथा सांस्कृतिक परम्परालाई पूर्णता दिने भएकाले नेपाली समाजमा यसको विशेष महत्त्व रहँदै आएको छ ।