दशैंको टीकापछि चितवनका पर्यटकीय गन्तव्यमा चहलपहल बढ्यो

60 Shares

दशैंको टीका सकिएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ । सौराहा, पटिहानी, जगतपुर र मेघौलीका होटल तथा रिसोर्टमा पर्यटकको चहलपहल बढ्न थालेको हो ।

लामो बिदा र पर्यटकीय याम सुरु भएसँगै घुमफिरमा निस्कनेको संख्या बढेको व्यवसायीहरूले बताएका छन् । दशैंअघि करिब ३० प्रतिशतमा सीमित रहेको होटलको कोठा प्रयोग दर बढेर ८० प्रतिशतभन्दा माथि पुगेको छ । सौराहामा रहेका १३६ होटलमा करिब ६ हजार २०० शय्या उपलब्ध छन् । पटिहानीका केही रिसोर्ट पूर्ण रूपमा भरिएका छन् भने जगतपुर र मेघौलीका होटलमा पनि पर्यटकको उपस्थिति बढेको छ ।

पर्यटकको आवागमन बढेसँगै चितवनमा वन्यजन्तु अवलोकन, जिप सफारी, डुङ्गा सयर र थारु संस्कृतिको अनुभव लिने गतिविधि पनि बढ्न थालेका छन् । नेपालीसँगै चीनलगायत विभिन्न देशका पर्यटक चितवन पुगिरहेका छन् । होटल तथा रेस्टुरेन्टमा पर्यटकको चहलपहल बढेपछि लामो समयदेखि सुस्त रहेको पर्यटन व्यवसायमा पनि उत्साह थपिएको व्यवसायीहरूको भनाइ रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२÷८३ मा दुई लाख ७२ हजार ९२३ पर्यटक पुगेका थिए । तीमध्ये एक लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क राष्ट्रका र ८८ हजार ६६५ अन्य देशका पर्यटक थिए । दशैंको टीकापछि बढेको चहलपहलले चितवनको पर्यटन व्यवसायलाई थप गति दिने अपेक्षा गरिएको छ ।