गाउँमै रोजगारी र आम्दानी बढाउँदै गुल्मीका होमस्टे

45 Shares

स्थानीय संस्कृति, मौलिक खानपान र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दा गुल्मीका होमस्टे गाउँको अर्थतन्त्र चलायमान बनाउने माध्यम बनेका छन् । जिल्लाका भार्से, धुवाँखोला, ठूलोलुम्पेक, टिमुरे, स्वाँरा र रेसुङ्गामा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेमा सञ्चालित रानीवन सामुदायिक होमस्टेमा गत वर्ष आठ हजार पाहुना पुगेका थिए । उक्त अवधिमा होमस्टेबाट १० लाख रुपैयाँ आम्दानी भएको थियो । त्यहाँ स्थानीय खानाका परिकारसँगै ठाडो भाका, चुड्का, सालैजो र सोरठीजस्ता सांस्कृतिक प्रस्तुति पनि देखाइन्छ ।

कालीगण्डकी गाउँपालिका–७ भुर्तुङस्थित धुवाँखोला सामुदायिक होमस्टेबाट वार्षिक करिब सात लाख रुपैयाँ आम्दानी भइरहेको व्यवस्थापक आशिष गुरुङले बताएका छन् । स्थानीय समुदायका सदस्य सहभागी भएर सञ्चालन गरेका यस्ता होमस्टेले पाहुनालाई बसोबास र खानपानको सुविधा दिनुका साथै स्थानीय संस्कृति चिनाउने अवसर पनि प्रदान गरेका छन् ।