वर्षमा एक दिन मात्रै खुल्छ तलेजु मन्दिर, यस्तो छ यसको ऐतिहासिक र धार्मिक महत्त्व

52 Shares

काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर वर्षमा एक दिन मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ । बडादसैँको महानवमीका दिन खुल्ने यो ऐतिहासिक मन्दिर धार्मिक आस्था, मल्लकालीन इतिहास र परम्परागत संस्कृतिका कारण विशेष महत्त्व राख्छ ।

वर्षभरि मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाउने भक्तजन महानवमीको दिन देवीको दर्शन गर्न पुग्छन् । तलेजु भवानीलाई विशेषगरी नेवार समुदायले आफ्नो इष्टदेवीका रूपमा श्रद्धा गर्ने गर्छन् । मल्लकालीन राजाहरूले समेत तलेजुलाई आराध्यदेवीका रूपमा पूजा गर्ने परम्परा रहेको इतिहासमा उल्लेख छ ।

राजा महेन्द्र मल्लले सन् १५४९ मा यस मन्दिरको निर्माण गराएका थिए । अग्लो प्यागोडा शैली र कलात्मक बनावटले मन्दिरको ऐतिहासिक तथा वास्तुकलात्मक विशेषता झल्काउँछ । मन्दिर वर्षमा एक दिन मात्रै किन खुल्छ भन्ने विषयसँग एउटा रोचक धार्मिक किंवदन्ती जोडिएको छ ।

राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्ने क्रममा अनुचित व्यवहार गरेपछि देवीले मन्दिर छाडेकी थिइन् । राजाले क्षमा मागेपछि देवीले वर्षमा एकपटक महानवमीका दिन मात्र दर्शन दिने वचन दिएको विश्वास गरिन्छ ।